माननीय मन्त्री डा. बिक्रम तिमिल्सिना

माननीय मन्त्री डा. बिक्रम तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

प्रारम्भिक जीवन

डा. विक्रम तिमिल्सिना नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ। उहाँ नीति–केन्द्रित, प्रमाण–आधारित र जवाफदेही शासन प्रवर्द्धनप्रति प्रतिबद्ध सार्वजनिक प्रतिनिधि हुनुहुन्छ।

राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा ग्रिफिथ विश्वविद्यालय, अस्ट्रेलियाबाट विद्यावारिधि प्राप्त गर्नुभएका डा. तिमिल्सिनाले द युनिभर्सिटी अफ क्वीन्सल्याण्डबाट अन्तर्राष्ट्रिय अध्ययन (शान्ति तथा द्वन्द्व समाधान) मा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ।

अनुसन्धान, अध्यापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव बोक्नुभएका उहाँले करिब १५ वर्षसम्म प्रसारण, छापा तथा अनलाइन माध्यमहरूमा आबद्ध भई सञ्चार क्षेत्रमा कार्य गर्नुभएको अनुभव छ। उहाँले राजनीति, सुशासन, जलवायु परिवर्तन, सामाजिक समावेशिता र सार्वजनिक नीति जस्ता विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन, प्रकाशन र प्रस्तुति दिनुभएको छ। उहाँले पूर्वमा त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुका साथै विभिन्न शैक्षिक तथा अनुसन्धान संस्थाहरूसँग आवद्ध रही नीति बहस र अनुसन्धान कार्यमा योगदान दिनुभएको छ।

सार्वजनिक सेवा र नीतिनिर्माण प्रक्रियामा संलग्न रहँदै उहाँ सुशासन, डिजिटल रूपान्तरण, अभिव्यक्ति स्वतन्त्रता, सूचना पहुँच र समावेशी विकासलाई आफ्नो कार्यकालका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइरहनुभएको छ।